सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी हरिनगर–६ का २० वर्षीय नुसरत खातुनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेश पत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो। पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आज नियन्त्रणमा लिएको उनले जानकारी दिए।
भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐन विपरीत भएकाले सोहीअनुसार खातुनलाई कारबाही हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।




















