श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठले बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको प्रष्टीकरण दिएकी छन्।
श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि यस्तो प्रष्टीकरण दिएकी हुन्।
मन्त्री पत्नी श्रेष्ठले आज बिहान फेसबुक स्ट्याटसमा भनेकी छन्, ‘स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धी आइरहेको खबरप्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धी कुनै पत्र पनि बुझेको छैन।’
यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन्। निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो।
जुनुको पछिल्लो नियुक्ति २०८० मङ्सिर १४ गते भएको थियो। उनले बीमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन्।