नेकपा एमाले राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिन नभएको दाबीसहित सरकारलाई प्रश्न गरेकी छन्। सोमबारको राष्ट्रिय सभा बैठकमा उनले २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ भइरहेको बताएकी हुन्।
‘भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?’ उनले भनिन्, ‘२३ गतेको घटनाबारे केही प्रतिवेदन आए। २४ गते खण्डहर भएका सिंहदरबारजस्ता संरचना जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ?’
नवयुवालाई गलत ढंगले परिचालन गर्ने र सिंहदरबारलगायत ठाउँलाई खण्डहर बनाएकामा आफू भावविह्वल भएको बताइन्। उनले त्यस घटनाको तथ्य सार्वजनिक हुनुुपर्ने माग राखिन्। सरकारले कार्पेटमुनि धुलो राखेर सब ठीकठाक छ भनेर हिँड्ने काम गर्न नहुने पनि बताइन्।




















