विराटनगर । सिटिजन्स बैंकको विराटनगरस्थित रांजवशि चोक शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको वित्तीय अपराधको तथ्य बाहिर आएको छ । बैंकको आन्तरिक अनुसन्धानले ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको पुष्टि गरेपछि मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिएको छ ।
बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दती निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको पाइएको छ । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण राज अधिकारीले कर्मचारीले घरकै पैसा चलाए जसरी नक्कली कागजात बनाएर अनियमिता गरेकास्वीकार गरेका छन् ।
लोकान्तरसँगको कुराकानीमा उनले भने ‘रोजी कणेलले अनअथोराइज्ड ) हिसाबले ट्रान्जेक्सन गरेको र बदमासी गरेको सत्य हो । उनले अपरेसन इन्चार्जको जिम्मेवारीमा रहेर अनएथिकल काम गरिन्। यो एक प्रकारले घरको पैसा चलाए जस्तै केस हो ।’
घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज कणेल८८ई मुख्य आरोपी बनाइएको छ । उनीसँगै अन्य ४ जना कर्मचारीलाई पनि शंकाको घेरामा राख्दै बैंकले निलम्बन गरेको छ। सूचना अधिकारीका अनुसार, रोजी कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् र उनले हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति (जग्गा) बैंकको नाममा दिइसकेकि छिन् । बैंकले दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित जाहेरी दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कविता कट्वालले बैंकबाट निवेदन प्राप्त भएको र अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । प्रहरीले पनि बैकलाई पत्र पठाएर सबै कर्मचारीको डिटेल मागि सकेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने जाहेरी दर्ता नगरी अनुसन्धान गरीरहेको बताएका छन् । प्रहरी स्रोतका अनुसार विराटनगरका केही पहुँचवाला व्यापारीहरूको दबाबका कारण मुद्दा दर्ता गर्न ढिलासुस्ती भइरहेको छ ।
यद्यपि, बैंकका सूचना अधिकारी अधिकारीले भने प्रहरीले बैंकसँग थप विवरण र अनुसन्धान प्रतिवेदन मागेको र प्रक्रिया अघि बढेको दाबी गरेका छन् ।
बैंकका सुचना अधिकारी नारायणले ग्राहकको निक्षेपमा कुनै असर नपर्ने स्पष्ट पारेका छन् । ‘यो बैंकभित्र गरिएको बदमासी हो, सेवाग्राहीलाई यसबाट कुनै समस्या हुँदैन, उनीहरूको पैसा सुरक्षित छ,’ उनले भने ।
बैंकिङ प्रणालीभित्रै बसेर आफ्नै कर्मचारीले गरेको यो ठूलो परिमाणको हिनामिनाले वित्तीय क्षेत्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । बैंकले अहिले आन्तरिक र कानुनी दुवै प्रक्रियाबाट रकम असुली र दोषीलाई कारबाही गर्ने प्रयास गरिरहेको जनाएको छ ।




















