कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छ। यसमध्ये नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो। कोशी प्रदेश अन्तर्गत कांग्रेसका तर्फबाट पाँचथर १ मा नरेन्द्र कुमार केरुङ, इलाम १ मा निश्कल राई, तेह्रथुममा सन्तोष सुब्वा र सोलुखुम्बुमा प्रकाश सिंह कार्कीले चुनाव जितेका हुन्।
केरुङले १७ हजार २३३ मत ल्याएर चुनाव जित्दा यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ भने १४ हजार १०० मत पाएको छ। निश्कलले १४ हजार ५४३ मत पाएर चुनाव जित्दा यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ १० हजार ८१६ मत पाएको छ।
तेह्रथुममा सन्तोष सुब्वा ११ हजार ५६१ मत ल्याएर विजयी भए। यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ ९ हजार ३१२ मत पायो। सोलुखुम्बुमा १३ हजार १६६ मत ल्याएर कांग्रेसका प्रकाश सिंह कार्कीले चुनाव जिते। यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ १० हजार ७०५ मत पाएको छ।
अर्थात्, प्रत्यक्षमा चुनाव जितेका उम्मेदवारले भन्दा ती क्षेत्रमा कांग्रेसको समानुपातिक मत केही कम रहेका छन्।
कोशी प्रदेशका बाँकी १२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार दोस्रो, आठ ठाउँमा तेस्रो, तीन ठाउँमा चौथो र एक ठाउँमा पाँचौं भएका छन्।
कोशी प्रदेशभर कांग्रेसका प्रत्यक्ष तर्फका सबै २८ जना उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत जोड्दा ३ लाख ६० हजार ८०९ पुग्छ। कोशी प्रदेशभर कांग्रेसले पाएको समानुपातिक मत भने २ लाख ९० हजार ५६२ रहेको छ।




















