रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन्।

बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ बर्सिया कल्पना ओलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो।

जिप्रका रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले ती किशोरीसँगै गएकी अर्की एक किशोरी भने बेपत्ता भएको जानकारी दिए। उनका अनुसार १२ बर्सिया सपना ओली बेपत्ता भएकी छन्। सपनाको खोजी भइरहेको इन्स्पेक्टर पुनले बताए।

तीनै जना दिदीबहिनी सोमबार विवाहमा जाने भनेर घरबाट निस्किएका थिए। प्रहरीले विवाहबाट घर फर्किदा नदी तर्ने क्रममा तीनै जना बगेको हुनसक्ने अनुमान गरेको छ।

घटनास्थलमा इन्स्पेक्टर पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोस्ट छिनखेतबाट प्रहरी टोली पुगिसकेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको छ।