नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भागको जिम्मेवारी पार्टीले लिने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित 'नेपाली कांग्रेसको प्रतिज्ञा, तपाईंको प्रश्न' कार्यक्रममा थापाले यस्तो बताएका हुन्। जेनजी आन्दोलनको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन कांग्रेस तयार रहेको उनको भनाइ छ।

'भदौ २३ गते सरकारको तर्फबाट गल्ती भएकै हो। हामी पनि त्यो समय सरकारमा थियौँ। आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ। हामी लिन्छौँ,' थापाले भने, 'हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूसँग क्षमा माग्छौँ।'

आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरूसँग थापाले क्षमा पनि मागे। सभापति थापाले ००७, ०४६ र ०६३र६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताए। उनले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सके त्यसप्रति गौरव गर्न सकिने उनको भनाइ छ। जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा थापाले गरे।

'हामी ००७, ०४६, ०६३र६४ सालको आन्दोलनको गौरव गर्छौं। भदौ २३ र २४ मा जुन माग लिएर युवाहरू आन्दोलनमा आए। ती मागहरू पूरा गर्नसके मात्र हामी त्यसप्रति गौरव गर्छौं,'थापाले भने।

उनले अगामी दिनहरूमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता जनाए।