नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन्।
राजधानीमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले भत्काउने र बनाउने दुई सोचबीच द्वन्द्व जारी रहेको बताएका हुन्।
‘आज देश यस्तो दोबाटोमा उभिएको छ। जहाँ एकातिर आवेग र आक्रोश छ। अर्कोतिर विवेक र जिम्मेवारी छ,’ ओलीले भनेका छन्, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ।’
यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको ओलीको भनाइ छ। ‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नै प्रश्नहरूको घेरामा छ,’ ओलीले भने।




















