राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले राजीनामा दिएका छन्।

बागमती प्रदेशका उपसभापति एवम् २०७९ को निर्वाचनमा काभ्रेबाट प्रत्यक्ष उम्मेदवार बनेका हुमागाईंले पार्टी महामन्त्रीलाई राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीप्रति चर्को असन्तुष्टि जनाएका छन्। उम्मेदवार छनोटमा चलखेल, केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लघंन र आन्तरिक लोकतन्त्रको समाप्ति, प्रदेशको अन्तिम तहको आवाजको वेवास्ता, नेतृत्वमाथि नैतिक प्रश्न, पार्टीको संरचनागत विकृति र निजी स्वार्थलगायत उनले राजीनामा दिनुका सात आधार उल्लेख गरेका छन्।

राजीनामाको अन्तिममा उनले लेखेका छन्, ‘आफैंभित्रको विकृति सच्याउन नसक्ने, आन्तरिक लोकतन्त्रको सम्मान नगर्ने, पारदर्शिता कायम नगर्ने र नैतिक बल गुमाइसकेको संगठनले राष्ट्र निर्माणको दाबी गर्नु केवल नारामात्र हुनसक्छ।’