राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन्।

बुधबार धनगढीमा आयोजित 'परिवर्तन उद्घोष' सभालाई सम्बोधन गर्दै उनले योपल्ट परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरे।

‘फागुन २१ गते पुराना दलहरूको सटर पूर्ण रूपमा बन्द गर्ने हो। बाचा गर्ने पूरा नगर्ने नेताहरू तर वषौँसम्म सजाय पाउने जनता ? यस्तो हुन्छ ! अब जसले बाचा पूरा गर्दैन, त्यसले सजाय पाउनुपर्छ,’ रविले भने, ‘यो पटक परिवर्तनको पक्षमा भोट हाल्नुहोस्। आज धेरै बोल्दैनौँ। यो पटक मत नबाँड्नुहोला। तपाईंको निष्ठाको सम्मान गछौँ। राष्ट्रिय अवसर पूरा गर्न भोट हाल्नुहोस्।’ 

कार्यक्रममा रविले सिंहदरबार जलेको मात्र कुरा गरेकोमा पनि असन्तुष्टि जनाए। जलेको बनाउने मात्र होइन, यसपालि बदलेर नै छाड्ने उनले प्रतिबद्धता जनाए।

पुराना राजनीतिक दलहरूले ३५ वर्षसम्म काम नगरेको आरोप लगाउँदै रविले सुदूरपश्चिमको समस्या अब रास्वपाले पूरा गर्ने जिकिर गरे। उनले भने, ‘यहाँ मेडिकल, शिक्षा, स्वास्थ्यको समस्या छन्, त्यसलाई पूरा गर्ने हो। यो पटक भोट नबाँड्नुहोला। फेरि पनि भोट चोर्न आउनेछन्। दबाब दिन सक्छन्, कसैको डर नमानी परिवर्तनको पक्षमा भोट हाल्नुहोस्।’