निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ४ र ६ अन्तर्गत पर्ने ग्रामथान र बुढीगंगाका ग्रामीण बस्तीहरूमा यसपटक एउटा गम्भीर र शक्तिशाली सन्देश गुन्जिरहेको छ– ‘सडक र पुल त जसले जिते पनि बनाउँछ, अब हाम्रा छोराछोरीले राम्रो पढ्न र काम गर्न पाउनुपर्छ ।’


दशकौँदेखि भौतिक पूर्वाधार (सडक र पुल) लाई मात्रै विकासको मानक मान्दै आएका यहाँका मतदाताहरूले यसपटक नेताहरूका अगाडि स्वास्थ्य, शिक्षा र रोजगारीको कडा सर्त तेर्स्याएका छन् । 

मोरङको ग्रामथान–५ का शान्तिपुर, गिदनिया टोला र बुढीगंगाको कन्याथान पुग्दा चुनावी माहोल दलका झण्डा वा नारामा भन्दा पनि जनताका आधारभूत आवश्यकतामा बढी केन्द्रित देखिन्छ । कुनै समय यो क्षेत्रको सबैभन्दा ठूलो चुनावी एजेन्डा ‘सिघिया खोलाको पुल’ हुन्थ्यो । पूर्वमन्त्री विजय गच्छदारको पालामा धेरै पटक शिलान्यास भएर पनि अधुरो रहेको सो पुल पूर्वमन्त्री अमनलाल मोदीको कार्यकालमा सम्पन्न भयो । 


अहिले गाउँका टोल–टोलमा सडकहरू कालोपत्रे भएका छन् । तर, विरोधाभास के छ भने सडक चिल्ला छन्, तर बासका टाँटीले बेरेका घरभित्रका कथा भने उस्तै गरिबी र अभावले भरिएका छन् । गिदनिया टोलका ७० वर्षीय तुलाराम विश्वास भन्छन्, ‘सडक–पुल बनिसके, अब हाम्रा माग फेरिएका छन् । गाउँका युवाहरू बेरोजगारीका कारण ऋण लिएर विदेश गएका छन्, कतिपय त बाकसमा फर्किएका छन् । अब हामीलाई पुल देखाएर भोट माग्ने दिन सकिए, अब रोजगारी दिने नेता चाहियो ।’


ग्रामथानकी काजवती थारूले गाउँमा व्याप्त बेरोजगारी र जनचेतनाको अभावलाई मुख्य समस्याका रूपमा प्रस्तुत गरिन् । ‘स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने समेत धेरैलाई थाहा छैन,’ उनले भनिन्, ‘बिरामी भएपछि ऋण खोज्नुपर्ने बाध्यता छ । जितेर गएपछि नेताहरू दलको मात्रै मान्छे बन्छन्, सबैको जनप्रतिनिधि बन्न बिर्सिन्छन् ।’


बुढीगंगा–७ का गणेश बहादुर मगर र खुदिलाल चौधरीले किसानका समस्यालाई मुख्य मुद्दा बनाएका छन् । खेतीको समयमा मल र बीउका लागि सधैँ विदेशको मुख ताक्नुपर्ने बाध्यता र सरकारी विद्यालयको खस्कँदो शैक्षिक स्तरप्रति उनीहरूको तीव्र असन्तुष्टि छ । बुढीगंगाकै डल्लु ऋषिदेवले त खानेपानीको एउटा धारा जोड्न १२ हजार रुपैयाँसम्म तिर्नुपरेको पीडा सुनाउँदै निःशुल्क धाराको ग्यारेन्टी नगरेसम्म भोट नदिने मुडमा रहेको बताए ।


८१ वर्षीय ज्येष्ठ नागरिक फोक्सु विश्वास थारूको भोगाइले अहिलेको चुनावी विकृतिलाई उजागर गर्छ । उनी भन्छन्, ‘अहिले चुनाव पैसा, मासु र रक्सीले जित्ने माध्यम बनेको छ । पार्टी राम्रा भए पनि व्यक्ति खराब हुँदा जनताले दुःख पाए ।’ 


शान्तिपुरका बलराम माझीका अनुसार खर्च बढ्ने डरले नेताहरू अन्तिम समयमा मात्र भोट माग्न आउने दाउमा छन् । तर, यसपटक मतदाताहरू सचेत छन् । उनीहरू पार्टीको चिन्ह वा नेताको अनुहार भन्दा पनि उम्मेदवारको भिजन र विगतको काम हेरेर मात्र मतदान गर्ने तयारीमा छन् ।


मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, नेकपा ९माओवादी केन्द्र० का अमनलाल मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सन्तोष राजवंशी लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस क्षेत्रमा १ लाख १९ हजार २५५ मतदाता रहेका छन् ।


त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपा ९माओवादी केन्द्र० का उपेन्द्र राय र रास्वपाकी रुविना आचार्य लगायतका उम्मेदवार छन् । यस क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतदाता रहेका छन् ।


भौतिक विकासलाई नियमित प्रक्रिया मान्दै मोरङ ४ र ६ का मतदाताले यसपटक गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य र स्थानीय स्तरमै रोजगारीको सुनिश्चिततालाई जितको कसी बनाएका छन् । जसले यी मुद्दामा ठोस प्रतिबद्धता ल्याउँछ, उसैलाई मात्र आफ्नो अमूल्य मत दिने यहाँका बासिन्दाको सामूहिक अठोट छ ।