दमक । झापा क्षेत्र नं. ५ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको चुनावी भिडन्तलाई लिएर यो क्षेत्र विगत एक महिनादेखि नै राष्ट्रिय चर्चाको केन्द्रमा थियो । दुवै नेताले आफूलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेका कारण पनि झापा ५ को माहोल निकै तातिएको थियो  । विशेषगरी बालेनको उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको अव्यवस्थाले टेलिभिजनको चर्चित हाँस्य शृङ्खला ‘भद्रगोल’लाई नै बिर्साउने काम ग¥यो ।

बालेनको मनोनयन दर्ताको नेतृत्व हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले गरिरहेका थिए । संयोग नै भन्नुपर्छ, ‘भद्रगोल’ शृङ्खलाका चर्चित पात्र पाँडेले नेतृत्व गरेको कार्यक्रम आफैँमा पूर्ण रूपमा ‘भद्रगोल’ बन्न पुग्यो । बिहान ११ बजेको समय पाएका बालेन झन्डै एक घण्टा ढिलो गरी नौमती बाजासहित दमक चोकबाट जुलुस लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । रास्वपा सभापति रवि लामिछानेकै सिको गर्दै उनी गाडीको छतबाट हात हल्लाउँदै, समर्थकको हुटिङका बीच कार्यालय पुगेका थिए । तर, जब उनी कार्यालयभित्र छिरे, त्यहाँको दृश्य बाहिरको भन्दा बिल्कुलै फरक थियो । मनोनयन दर्ताका लागि आवश्यक पर्ने आधारभूत तयारीसमेत नगरी बालेनको टोली कार्यालय पुगेको पाइएपछि निर्वाचन कर्मचारीहरू नै चकित परेका थिए ।

मनोनयन फारम नभरी र अन्य आवश्यक कागजातको प्रक्रिया पूरा नगरी पुगेका बालेनको टोलीले सुरुमा कर्मचारीलाई नै फारम भरिदिन आग्रह गरेको थियो । ‘पाँडे’ लगायत काठमाडौँबाट आएको टोलीले कर्मचारीसँग आग्रह गरे पनि कर्मचारीले ‘यो नियमविपरीत हुन्छ, उम्मेदवारले आफैँ फारम भर्नुपर्छ’ भनेपछि बालेनको टोलीमा खैलाबैला मच्चिएको थियो । त्यहाँ फारम भर्न जान्ने मान्छेसमेत नभएपछि हतार–हतार मोरङ क्षेत्र नं. १ का रास्वपा उम्मेदवार एवं अधिवक्ता यज्ञमणि न्यौपानेलाई गुहार्नुपरेको थियो । न्यौपाने आएर कागजात मिलाउन थाल्दा बालेन भने कार्यालयको एउटा कुनामा राखिएको प्लास्टिकको कुर्सीमा बसेका थिए । पत्रकारहरूले उनको  तस्बिर खिच्दा अहिले बाहिर जानुहोस भनेका थिए । पत्रकार बाहिर नआएपछि उनी पछाडिको कुर्सिमा बसेका थिए । 

व्यवस्थापनको कमजोरी त्यतिमा मात्र सीमित रहेन । उम्मेदवारी दर्ताका लागि लाग्ने १० हजार रुपैयाँ धरौटी रकमसमेत बालेनको टोलीले बोकेको थिएन । धरौटी नबुझाई दर्ता नहुने भएपछि अन्तिममा प्रहरीमार्फत बाहिरबाट पैसा मगाइएको थियो । बाहिर ‘भावी प्रधानमन्त्री’ भन्दै नारा लागिरहँदा भित्र १० हजार रुपैयाँका लागि भएको त्यो दौडधुपले रास्वपाको स्थानीय कार्यकर्ताहरूलाई समेत लज्जित बनाएको थियो । एउटा सामान्य फारम भर्न र सामान्य धरौटी रकमको व्यवस्था गर्न नसक्ने टोलीले देशको नेतृत्व कसरी गर्ला भन्दै त्यहाँ उपस्थित केहीले कानेखुसीसमेत गरिरहेका थिए । एक कर्मचारीका अनुसार अघिल्लो दिन नै फारम लगिएको भए पनि दर्ताका क्रममा उनीहरू पूर्ण रूपमा अलमलमा देखिएका थिए । 

बालेनको यो भद्रगोल चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने निकै व्यवस्थित र तामझामका साथ कार्यालय पुगेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की लगायतका नेताहरूको दलबलसहित आएका ओलीले बाहिरै रहेका कुर्सीमा बसेर पत्रकारहरूसँग केही बेर कुराकानी गरेका थिए । ओलीको मनोनयन दर्ता  निकै छिटोसम्पन्न भएको थियो । सोही क्रममा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले ओली र नेकपाका उम्मेदवार रञ्जित तामाङबीच जम्काभेट गराइदिएका थिए । तामाङले ओली विच केहि रोचक कुरा पनि भएको थियो । 

उम्मेदवारी दर्तापछि भने बालेनको मूड निकै खराब देखिएको थियो । दमक चोकमा सम्बोधन गर्ने पूर्वघोषित कार्यक्रम भए पनि एमाले र रास्वपा कार्यकर्ताबीच बाहिर झडपको स्थिति सिर्जना भएपछि उनले ‘आजको दिन नै खराब छ’ भन्दै भाषण नै नगरी त्यहाँबाट बाहिरिएका थिए । रोचक कुरा त के छ भने, आउँदा एउटा गाडीमा आएका बालेन जाँदा भने अर्को छुट्टै गाडी चढेर कसैलाई जानकारी नै नदिई विर्तामोडस्थित सिने कलाकार निश्चल बस्नेतको घरतिर लागेका थिए । काठमाडौँबाटै टिम बोकेर आएका बालेनको पहिलो दिनको प्रदर्शन व्यवस्थापकीय हिसाबले निकै कमजोर र भद्रगोल देखिएको मनोनयमा खटिने कर्मचारी बताउछन् ।  

यसैबीच, नेपाली कांग्रेसले यस क्षेत्रमा अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्दै मन्दरा पौडेल चिमोरियालाई मैदानमा उतारेको छ । यसअघि आइन्द्र विक्रम केरुङलाई उठन भने पनि उनी उठन नमानेपछि महिला उम्मेदवारलाई उठाएको हो ।  

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा न ओली,बाले ,चिमरिया तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् भने १० जना भने स्वतन्त्र उम्मेदवार रहेका छन । चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।

कुल २४ उम्मेदवारमध्ये महिलाको उपस्थिति भने निकै न्यून देखिएको छ । सार्वजनिक सूची अनुसार चिमरिया (नेपाली कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र) गरी मात्र ३ जना महिला उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । बाँकी २१ जना पुरुष उम्मेदवार रहेका छन् ।