विराटनगर । नेकपा एमालेले मोरङका बाँकी रहेका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारको टुंगो लगाएको छ । मोरङ क्षेत्र नम्बर ३ मा यसअघि तय गरिएका उम्मेदवार परिवर्तन गरिएको छ ।
एमाले सचिव भानुभक्त ढकालका अनुसार मोरङ क्षेत्र नम्बर ३ मा अब इरन राईले उम्मेदवारी दिनेछन् । यसअघि एमालेले दिलिप कुमार राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, पार्टीले टिकट दिए पनि दिलिपले चुनाव लड्न अनिच्छा देखाएपछि एमालेले उम्मेदवार परिवर्तन गरी इरन राईलाई अघि सारेको हो ।
यो निर्वाचन क्षेत्रबाट यसअघि सचिव भानुभक्त ढकाल आफैँ एक पटक विजयी भएका थिए भने अर्को पटक पराजित भएका थिए । यस क्षेत्रमा नेपाली कांग्रेसले भने सांसद सुनिल शर्माको नाम एकल सिफारिस गरिसकेको छ ।
यसैगरी, एमालेले मोरङका बाँकी दुई क्षेत्र ५ र ६ को पनि उम्मेदवार टुंगो लगाएको छ । मोरङ क्षेत्र नम्बर ५ मा मनोज अग्रवाल र क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
क्षेत्र नम्बर ५ मा यसअघि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका थिए । यता क्षेत्र नम्बर ६ मा भने एमालेले लामो समयदेखि लालबाबु पण्डितलाई उम्मेदवार बनाउँदै आएको थियो । यसपटक पण्डितले उम्मेदवार नबन्ने घोषणा गरेपछि एमालेले विनोद ढकाललाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।




















