फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपामा पुगिरहेका छन्।

सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक सानेपा नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ।

वार्तास्थल पुगेका नेता देवराज चालिसेले अन्य सबै प्रतिनिधि आइसके पनि रमेश लेखकलाई कुरिरहेको बताएका छन्।

देउवाले वार्तामा खटाएका पूर्वगृहमन्त्रीसमेत रहेका लेखक सानेपा पुगेपछि मात्र औपचारिक वार्ता सुरु हुने चालिसेले बताएका छन्।

यता कांग्रेस नेता डा. चन्द्र भण्डारीले पार्टी फुटाउने उद्देश्यका कुनै पनि सभामा सहभागी नहुने बताएका छन्। उनी अहिले भृकुटीमण्डपको विशेष महाधिवेशनस्थल छाडेर सानेपा पुगेका छन्। उनले पार्टी एकता कमजोर पार्ने गतिविधिमा आफू संलग्न नहुने बताएका छन्।

उनी र सुनील शर्मा दुवैजना विशेष महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। तर अब विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया थालेसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएका हुन्।

कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान पहिलो चरणको त्रिपक्षीय वार्ता बिनानिष्कर्ष सकिएको थियो। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले मंगलबार बिहान विशेष महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अगाडि बढाउँदै गर्दा भएको त्रिपक्षीय वार्ता भएको थियो।