बेलबारी । मोरङको बेलबारीमा जारी दोस्रो बेलबारी महोत्सवको चौथो दिन आज सोमबार साङ्गीतिक क्षेत्रका दुई चर्चित ताराहरू कमल खत्री र बबिना किरातीले आफ्नो प्रस्तुति दिने भएका छन्। बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा गत पुस २५ गतेदेखि सुरु भएको महोत्सवमा आजको मुख्य आकर्षणका रूपमा यी दुई कलाकार रहनेछन्।
आफ्नो सुमधुर स्वर र रोमान्टिक गीतका कारण युवापुस्तामाझ लोकप्रिय रहेका गायक कमल खत्रीले आफ्ना चर्चित हिट गीतहरू आत्मामा,जाउँला रेलैमा, पहिलो माया फकाउनै जान्दैन ,सहन सक्दिनँ म,फिक्का फिक्का लगायतका प्रस्तुतिमार्फत बेलबारीवासीलाई झुमाउनेछन्।
त्यसैगरी, पूर्वेली लोक गायनमा छुट्टै पहिचान बनाएकी गायिका बबिना किरातीको पनि आज विशेष प्रस्तुति रहनेछ। स्थानीय व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न व्यावसायिक स्टलहरूका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। आयोजकले आज बेलुकी ६ बजेदेखि महोत्सव स्थलमा प्रवेशका लागि सबैमा अनुरोध गरेको छ।
महोत्सव अवधिभर उल्लेख्य संख्यामा दर्शकहरूको उपस्थिति रहने र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास आयोजक बेलबारी उद्योग वाणिज्य संघले लिएको छ। आजको साङ्गीतिक साँझले महोत्सवको रौनक अझ थप्ने अपेक्षा गरिएको छ।




















