नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको युवाहरूले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

उनीहरूले आज बिहान सभापति देउवालाई भेटेर वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका लागि एकता र मेलमिलापको पहल गर्न आग्रह गरेका हुन्।

उनीहरूले विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत हुन आवश्यक रहेको औंल्याएका छन्। 

पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा रहेको उनीहरूको भनाइ छ।

वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा सभापति देउवासमक्ष राखिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए।

उक्त भेटमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग विष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत नेताहरूको सहभागिता रहेको थियो।