गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन्। आज ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सो कुरा बताएका हुन्।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमको उद्‍घाटन शत्रमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोश्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट गरी मुख्य रुपमा दुई वटा म्यान्डेट रहेको बताए। 

पहिलो म्यान्डेट सम्बन्धमा सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

त्यस्तै, दोश्रो म्यान्डेटको सम्बन्धमा जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए। 

तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराउँदै स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिए।

मुख्यमन्त्री बानियाँले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताउँदै कृतिम बौद्धिकता, इन्टरनेट लगायतको प्रयोगबाट हुन सक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायहरूलाई सचेत गराए।