प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्वर २ ले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।

यो महासचिव पोखरेलको गृह क्षेत्र हो। यसअघि २०७९ को निर्वाचनमा पोखरेल थोरै मतले पराजित भएका थिए।

दाङ क्षेत्र नम्बर २ मा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन्।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए। २०७९ मा विजयी शर्माको नाम नेकपाले सिफारिस नगर्दा पोखरेल भने एकल सिफारिसमा परेका हुन्।