निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मङ्सिर १९ गतेदेखि २१ गतेसम्म विराटनगरस्थित सहिद रंगशाला जुटमिल खेल मैदान, रानी तथा एभरेष्ट स्कूल को खेलमैदानमा PABSON SPORTS MEET – २०८२ हुने भएको छ। कार्यक्रमबारे जानकारी गराउँदै प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतले खेलकुदले शिक्षामा पुर्याउने योगदानलाई सर्वोच्च प्राथमिकताका साथ अगाडि बढाइने बताए। उनका अनुसार, “शारीरिक, मानसिक तथा नैतिक विकाससहित विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व निर्माणमा खेलकुद अपरिहार्य अंग हो।
प्याब्सन मोरङले २०६३ सालदेखि निरन्तर खेलकुदका माध्यमबाट विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै आएको छ,” भन्दै यस वर्षको प्रतियोगिता थप प्रभावकारी र अनुशासनमुखी हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे। यस प्रतिष्ठित कार्यक्रममा मोरङका २३५ सदस्य विद्यालयबाट ३ हजारभन्दा बढी खेलाडी सहभागी हुने अनुमान गरिएको छ भने करिब रु. २० लाख लागत रहने कार्यक्रमको आर्थिक व्यवस्थापन रजिस्ट्रेशन शुल्क तथा प्याब्सन मोरङका आन्तरिक स्रोतबाट गरिने बस्नेतले जानकारी दिए। कार्यक्रम अवलोकनका लागि एक लाखभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ।
बस्नेतका अनुसार, “यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै प्रदेश र राष्ट्रलाई आवश्यक खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।" मङ्सिर १९ गते बिहान ११:०० बजे हुने उद्घाटन समारोहमा प्याब्सन केन्द्रीय अध्यक्ष श्री कृष्णप्रसाद अधिकारी प्रमुख अतिथि रहनेछन् भने विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहने बताइएको छ। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस, athletics लगायतका खेलहरू सञ्चालन गरिनेछन्।
खेलहरूको प्राविधिक पक्षलाई एथलेटिक्स संघले सहयोग गर्नेछ। साथै, फुटबल, क्रिकेट, बास्केटबल, भलिबल तथा टेबल टेनिस संघसँग सहकार्य गर्दै कार्यक्रम व्यवस्थित रूपमा अघि बढाइनेछ। बस्नेतले मोरङका थुप्रै विद्यालयबाट उदाएका प्रतिभाशाली खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्दै प्रदेशको गौरव बढाइरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै “यस वर्ष पनि सकारात्मक सन्देशसहितको विस्तृत प्रचार–प्रसारमा साथ मिलाइदिनुहोला,” भन्दै सहयोगको अपेक्षा व्यक्त गरे। PABSON SPORTS MEET – २०८२ कोशी प्रदेशकै गौरवमय र ऐतिहासिक खेलकुद आयोजनाको रूपमा यसअघि झैं यस वर्ष पनि भव्यताका साथ सम्पन्न हुने विश्वास आयोजकले व्यक्त गरेको छ।




















