इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ। घटनाको प्रारम्भिक अवस्थाले शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ।

गत २४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्केकी मञ्जु घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन दिएको थियो। खोजीका क्रममा २७ कार्तिकमा धरान–४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्यागलगायत उनका व्यक्तिगत सामान फेला परेका थिए।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वतर्फको दुर्गम भूभागमा पर्छ। राईले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका वस्तुबीचको मेलले घटना शङ्कास्पद देखिएको बताए। उनका अनुसार विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ। पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान अघि बढाइने जनाइएको छ।