हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरुलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन सार्वजनिक आह्वान गरेका हुन्। उनले भनेका छन्, ‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्।’
गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ। अब सबै पुस्ता जोडिनका लागि छिट्टै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।
गुरुङले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै सोही गोरखा मन्दिरबाट आशीर्वाद लिएर यो अभियान सुरु गरिने बताएका छन्।




















