नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो। यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गाको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो।
नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो।
उक्त समय सीमाभित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो।
उक्त जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो। सम्झौता गरेको समय अवधि सकिए पनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा खाली गरेको थिएन।




















