विराटनगर महानगरपालिका–१४ स्थित सिंगिया खोलामा नुहाउन पसेका एक युवकको शव दुई दिनपछि फेला परेको छ।
विराटनगर महानगरपालिका–१० सोमबारे बस्ने करिब २५ वर्षीय श्रवण मण्डल कात्तिक १५ गते दिउँसो साढे १ बजे सिंगिया खोलामा नुहाउन पसेका थिए। नुहाउने क्रममा खोलाको वेगले बगाएपछि उनी बेपत्ता भएका थिए।
घटना भएको जानकारी प्राप्त साथ जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र प्रदेश प्रहरी कार्यालय हाट खोला अन्तर्गतको टोली घटनास्थल पुगेको थियो। खोजी कार्य दुई दिनसम्म निरन्तर चलाइएको थियो।
आज इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन राईको कमान्डमा खटिएको टोलीले सिंगिया खोलाको ऐ.१४ बिष्णुटोलस्थित पूर्वी किनारमा पानीमा डुबिरहेको अवस्थामा मण्डलको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले शव फेला परेपछि उनको आफन्तलाई बोलाएर सनाखत गराएको थियो। आफन्तले शव श्रवण मण्डलकै भएको पुष्टि गरेपछि कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीका अनुसार जनाएको छ।
        
        
                    
        
        
        
                                        
                                                                                                


        
        
        
        
















