तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन्।
सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेकामा टासीलाई कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको समाचार सार्वजनिक भएपछि जेनजी कर्णालीले त्यसप्रति तीव्र आपत्ति जनाएको छ।
जेनजी कर्णालीकी संयोजक सुप्रिया शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै टासी ल्हाजोमको नागरिकता विवादास्पद रहेको र उनी जेनजी आन्दोलनमा कुनै किसिमको भूमिका नखेलेको बताएकी छिन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले कुनै पनि निर्णय गर्नुअघि प्रदेश र स्थानीय तहका जेनजीहरूसँग छलफल र परामर्श गर्नु आवश्यक छ।”
शाहीले टासी ‘फ्री तिब्बत’ अभियानसँग संलग्न रहेको आशंका पनि व्यक्त गरेकी छन् र यसबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरेकी छन्। उनले सरकारलाई विवादास्पद व्यक्तिलाई बिना छलफल जिम्मेवारी दिनु अयोग्य कदम भएको बताएकी छन्।
विज्ञप्तिमा चार बुँदामा माग राख्दै जेनजी कर्णालीले टासीको नागरिकता, राजनीतिक संलग्नता र विगतका गतिविधिबारे स्पष्टता ल्याउन, जेनजी आन्दोलनमा भूमिका खेलेका व्यक्तिहरूको योगदान सार्वजनिक गर्न र कुनै पनि नियुक्ति गर्नुअघि स्थानीय प्रतिनिधिहरूसँग परामर्श गर्न आग्रह गरेको छ।
शाहीले थपेकी छन्, “जेनजी आन्दोलनको भावना र आत्मबलिदानको सम्मान गर्दै सरकारले पारदर्शी ढंगले निर्णय गर्नुपर्छ।”

यसअघि सार्वजनिक भएका समाचारअनुसार, टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने तयारी गरिएको थियो। तर, उनीबारे जेनजी समुदायभित्रै असहमति देखिएपछि विवाद चुलिएको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले पनि यस विषयमा थप छलफल गर्ने बताएकी छन्।