भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन्। बिहीबार मन्त्री घिसिङले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन्।

उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए। उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए।

उनले भने, ‘धेरै खेलको पूर्वाधारहरू बनाउनुपर्ने छ। अरुपनि पूर्वाधारहरूलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो। यो नेपालको आवश्यकता हो। आम नेपाली जनताको वा खेलाडीहरूको चाहना हो। यसलाई कुनै पनि सरकार आएपनि प्राथमिकता दिएरै अगाडि लानुपर्छ।’साथै उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिएका छन्। घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन्।

उनले मैदानको पहिलो फेजको काम करिब अन्तिम चरणमा पुगेको र दोस्रो एवम् तेस्रो फेजको काम अघि बढेको बताए। उनले नेपाल प्रिमियर लिग एनपीएल सुरु हुनु पूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिएका हुन्। ‘उनले भने १७ नोभेम्बर देखि एनपीएल सुरु हुँदै छ, सबै काम सक्नुस्।’उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनी काम गर्न पनि निर्देशन दिए। निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपीएल अघि तयार हुने बताए।

अवलोकनका क्रममा नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले मन्त्रीसहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए।