भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको र हटाउन आवश्यकभन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन्।

बिहीबार (असोज ९) सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो सुक्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उल्लेख गरे।

पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन। जोखिम छ। बिहीबारदेखि पानी नपरे राति पनि काम गरेर शुक्रबार बिहानसम्ममा सडक निर्बाध रूपमा सञ्चालनमा ल्याइने उनको भनाइ छ।

त्यसको विकल्पका रूपमा कान्ति राजपथ र त्रिभुवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ। बीपी र कोदारी राजमार्ग निर्बाध सञ्चालनमा रहेको उनले बताए।