ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहिवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा उनीहरू भेटवार्ता भएका हुन्। भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्यान्डका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।
स्विस सहयोगमा हाल सञ्चालित आयोजना कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न सकिने क्षेत्र, स्विस लगानी, द्विपक्षीय सहयोग लगायत विषयमा छलफल भएको बताइएको छ।
स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेन जेड आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचना पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउनु रहेको उल्लेख गरे।
उनले विद्युतीय सवारीसाधन प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनका रूपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्यान्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुसरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन, साना उद्योग स्थापना मार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गरे।
राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैँ तयार रहेको बताइन्।