नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन्। सधैंभरि अध्यक्ष भइराख्नुपर्छ भन्ने पक्षमा आफू नरहेको उनले बताए।

बिहीबार काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्व छाड्न तयार रहेको बताएका हुन्। जेनजी आन्दोलनपछि शीर्ष नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला माओवादीले केन्द्रीय कमिटी भंग गरेर त्यसको सुरूवात गरेको उनले बताए।

‘म सुरूमै कमरेडहरूलाई भन्न चाहन्छु, मलाई अध्यक्ष भइराख्नुपर्छ, म चाहिँ छोड्न हुँदैन भन्ने मेरो छैन। तर, कतिपय साथीहरूलाई त्यस्तो लाग्नैगर्छ फेरि’, अध्यक्ष प्रचण्डले भने, ‘यसले अनेक गरेर आफैंले नछोड्ने वातावरण बनाउन लाको त होइन भन्ने भएको पनि म सुन्छु। त्यसो होइन।’ आफूले विधिसम्मत नेतृत्व परिवर्तनको कुरा गर्दै आएको र विशेष महाधिवेशनपछि आफू अध्यक्ष नबन्ने प्रचण्डले संकेत गरे। 

‘बाहिर जेनजी आन्दोलनले पैदा गरेको मानसिकता लिडरसीपको बारेमा जे छ त्यसलाई पनि सम्बोधन गर्ने उद्देश्यले नै केन्द्रीय समिति विघटन गर्ने र अध्यक्ष, पदाधिकारी सबै पद अहिलेलाई मुल्तबीमा राख्ने अथवा स्थगित गर्ने आयोजक समितिमा जाने भनिएको हो’, प्रचण्डले भने, ‘यसले कम्तीमा पनि माओवादीः जसले जेनजी आन्दोलनको सुरूवातदेखि नै त्यसका मागहरूलाई समर्थन गर्‍यो। उसको भावनलाई सम्बोधन गरेको ठहर्छ।’

प्रचण्डले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा भने नरहेको समेत बताए। ‘अन्तिम समयसम्म पनि म लडिराख्नुपर्छ भन्ने संकल्प मभित्र छ। त्यसो भनिरहँदा अर्को कुरा पनि, सायद कमरेडहरूले विगतदेखि पनि मेरो भनाइ सुनिराख्नुभएको छ। मलाई अब पदमा बसिराख्नुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने।