काठमाडौं जिल्लामा आज अपरान्हदेखि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गर्दै तोकिएको क्षेत्रभित्र आवतजावत तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ नगर्न आग्रह गरेका छन्।
आदेश अनुसार भदौ २३ गते अपरान्ह १२ः३० बजेदेखि राति १० बजे सम्म काठमाडौं महानगरपालिकाभित्र पर्ने बानेश्वर क्षेत्र सीमाभित्र कर्फ्यू लागु हुनेछ।
जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए। प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो।