सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा जेनजी पुस्ताका युवाले प्रदर्शन गरेका छन्। उनीहरू भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको नियन्त्रणकारी निर्णयविरुद्ध सडकमा उत्रिएका हुन्।
बिहानैदेखि प्लेकार्ड र नाराबाजीसहित प्रदर्शनमा जुटेका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका छन्।
‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताले पसिना बगाउँछन्’, ‘भ्रष्टाचार अन्त्य गर, सामाजिक सञ्जाल होइन’जस्ता नारा लगाएर उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रदर्शनका क्रममा युवाले रुखविरुवा नष्ट नगर्ने, सार्वजनिक सम्पत्ति तोडफोड वा आगजनी नगर्ने, धम्की नदिने, सभ्य र जिम्मेवार ढंगले प्रस्तुत हुने प्रतिज्ञासमेत गरेका छन्।