सामाजिक सञ्जाल निष्क्रियको विरोधमा जेनजी युवाले सोमबार मोरङको विराटनगरमा पनि विरोध प्रदर्शनको तयारी गरेका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै प्रमुख सरकारी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालय वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। जिल्ला प्रशासन कार्यालयअगाडिको स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ। त्यहाँ प्रदर्शनमा रोक लगाइएको छ।

प्रहरीले प्रशासन परिसरतर्फ जाने मुख्य मार्गमा फलामे तारजालीसहित ‘ब्यारिकेट’ राखेको छ। अरू सरकारी कार्यालय वरिपरि पनि यस्तै सुरक्षात्मक तयारी गरिएको छ।

जेनजी युवाले संसारीमाईमा भेला भएर शान्तिपूर्ण जुलुससहित प्रशासन कार्यालयतिर जाने कार्यक्रम बनाएका छन्। त्यसपछि महेन्द्रचोकमा मुख्य विरोध प्रदर्शन गरिने जनाइएको छ।

प्रदर्शनमा सहभागी हुन सामाजिक सञ्जालमार्फत आह्वान गरिएको छ। सहभागीलाई हातमा पुस्तक र आफैँले बनाएको प्लेकार्ड लिएर आउन अपिल गरिएको छ। प्रदर्शन एकदेखि दुई घण्टासम्म गरिने जनाइएको छ। प्रशासन कार्यालयनजिकै छुट्टै प्रदर्शन गर्ने योजना पनि उनीहरूको छ।