पूर्वराष्ट्रपति–उपराष्ट्रपतिमा राजनीतिक सक्रियता रोक्ने संवैधानिक प्रावधान छैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन पाउने वा नपाउने भन्ने बहस चर्किएको बेला नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले यसमा कुनै प्रतिबन्ध नलगाएको प्रष्ट पारेका छन्।
शनिवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले विद्यादेवी भण्डारी र नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे। उनले भने, ‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन। त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो।’
तर, दलभित्रको व्यवहार भने फरक देखिएको छ। नेकपा (एमाले)ले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नवीकरण गर्ने निर्णय रोकेको छ। भण्डारीले एमालेको कार्यक्रममा सक्रियता देखाइरहे पनि पार्टीले उनको भूमिका सीमित राख्ने सङ्केत दिएको छ। त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने खुलेरै माओवादी केन्द्रको गतिविधिमा जोडिएका छन्।
यसै प्रसङ्गमा संविधान संशोधनसम्बन्धी प्रश्नमा देउवाले भने, ‘दुई तिहाइ बहुमत बिना संशोधन सम्भव छैन। त्यसका लागि दलहरूसँग छलफल भइरहेको छ । तर, तत्काल कुनै निष्कर्ष निक्लिएको छैन।
’प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने वा मन्त्री फिर्ता बोलाउनेबारे उठेका प्रश्नमा देउवा भन्छन्, ‘मन्त्री फिर्ता बोल्ने कुरा भएको छैन। कांग्रेसमा यसबारे कुनै छलफल भएको छैन।’
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरूको भूमिकाबारे संवैधानिक प्रावधान स्पष्ट नभएकै कारण अहिलेको बहस चर्किएको हो। संविधानले उनीहरूलाई राजनीतिक दलमा आबद्ध हुन नदिने प्रावधान नराखेकाले कानुनी रूपमा बाटो खुला छ। तर, दलहरूले उनीहरूलाई कस्तो भूमिकामा स्वीकार्छन् भन्ने कुरा भने व्यवहारगत राजनीति र शक्ति समीकरणमा भर पर्न जाने विश्लेषकहरु बताउँछन्।