नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले वर्तमान नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन्।

‘उज्यालो नेपाल अभियान’साथ अमेरिकाको भ्रमणमा रहेका उनले अस्टिनस्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा मुलुकमा विद्युत् उत्पादन पर्याप्त रहेको बताए। तर, प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरि विद्युत् आपूर्तिमा समस्या रहेको उनले टिप्पणी गरे।

“नयाँ व्यवस्थापन आएपछि विगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो,” घिसिङले भने, “देशभरिका विद्युत् प्रणाली सञ्चालन गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो।” 

उनले अगाडि भने, “अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानुपर्ने अवस्था आयो। त्यसैले नेपालमा अहिले देखिएको विद्युत् आपूर्तिको समस्या स्रोत नभएर व्यवस्थापन गर्न नसकेर हो। व्यवस्थापनको पूर्ण असफलता हो।”

नेपालले एसियाली विकास बैंकको सहायतामा ६७० मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना बनाउन खोजेको थियो। तर, लगानी जुटाउनुपूर्वका काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा त्यसमा खटिएका अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्योलमा पारेको उनले आरोप लगाए।

घाटाको संस्थालाई नाफामा लगेको, लगभग सबैका घरमा बिजुली पुर्‍याएको, विगतमा लोडिसेडिङको समयमा डेडिकेटेट तथा ट्रंकलाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उनले बताए।