नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ।
ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
गत जेठमा पत्थरीको शल्यक्रिया पश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो।
नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि २०७४ सालको निर्वाचनमा पनि वडा सदस्यमा निर्वाचित भएका थिए।
उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ।