सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउने गरी काम गर्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनीकरणको लागि छलफल आवश्यक रहेको बताए।
उनले भने,‘ ऐन वा कानुनको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी छ। र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रित हुनुपर्छ। वित्तीय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनीकरणका उपायहरूबारे विषयगत ढङ्गबाट छलफल गर्न आवश्यक छ।’
उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितिले तय गर्ने धारणा राखे। यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सही प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए।
उनले भने,‘सुशासन,सुख, समृद्धि र समानताको मुख्य कुरा भनेको आर्थिक स्थितिले तय गर्छ। समाजका विभिन्न विधाहरू राजनीतिक, सांस्कृतिक, साहित्यिकलगायत विभिन्न विधामा सफलता हुन आर्थिक सम्पन्नता हुनुपर्छ। त्यसैले अर्थतन्त्रलाई कसरी दरिलो बनाउने भन्ने आधारभूत कुरा हो। र यो दरिलो भएर मात्र हुँदैन। सही प्रणालीबाट कसरी लैजान सकिन्छ, उपार्जन कसरी गर्न सकिन्छ भन्नेबारे पनि ध्यान जानुपर्छ।’
देखिएको बेरुजुलाई समयमा नै टुङ्गो लगाउन तीनै तहको सरकार लागि पर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले देशको सम्पूर्ण कुरा अर्थ सुशासनसँग जोडिएको भन्दै यस विषयमा छलफल हुनुपर्ने धारणा राखिन्। छलफलले बेरुजु सम्बन्धी बजेटको निकास गर्ने समेत उनले विश्वास व्यक्त गरिन्।
‘सार्वजनिक लेखा समिति भनेको देशको अभिन्न अगं हो। देशको सम्पूर्ण कुरा अर्थ सुशासनसँग जोडिएको हुन्छ। यस्तो विषयमा छलफल बारम्बार हुनुपर्ने हो, भएको छैन। यहाँ जिम्मेवार व्यक्तिहरुबीच छलफल भएकाले बेरुजु सम्बन्धी निकास निस्किन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन्।
उनले आफ्नो कार्यकालको पाँच वर्षको अवधिमा तीन वर्ष बितिसक्दा पनि यसबारे छलफल नभएको गुनासो गरिन्।