हाईटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरू बिच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ।
ग्रिड कम्पनीका सचिव राजेश पोखरेलले निजी क्षेत्रको सहभागितामा यी दुई प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रका ऊर्जा प्रवर्द्धक कम्पनीहरूसँग सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन्।
यस अघि नै हाई टार–शीतल पाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि दुई निजी कम्पनीले आवेदन इिसकेका छन्। परियोजना निर्माणका लागि ती कम्पनीहरूले कति प्रतिशत शेयर हाल्ने र ग्रिड कम्पनीको कति प्रतिशत शेयर रहने विषयको छलफल अन्तिम चरणमा रहेको पोखरेलले बताए।
यस अघि हाई टार–शीतल पाटी प्रसारण लाइन निर्माणका लागि छुजुङ खोला जलविद्युत् आयोजना, तल्लो वरुण खोला, बकान खोला जलविद्युत् आयोजना र ६३ मेगावाट क्षमताको अर्को छुजुङखोला जलविद्युत् आयोजनाले यसअघिनै आवेदन दिइसकेका छन्।
त्यसैगरी लामाबगर–बाह्रबीसे प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चे खोला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिएका छन्।