संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति विस्तारका लागि जोड दिनुपर्ने बताएका छन्।
बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नाथमको जनशक्ति एकदमै महत्त्वपूर्ण रहेको भन्दै यसको माग सबैतिर बढेकाले विस्तारका लागि काम गर्नुपर्ने बताएका हुन्। 
उनले भने, ‘नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्त्वपूर्ण छ। यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन् यहीँ पनि काम पाउँछन्। नाथमलाई सरकारले सहयोग गर्न सकेको छैन अव कुन तरिकाले चलाउने भन्नेमा कठिनाइ भएको छ। यसको जनशक्ति विस्तार गर्नुपर्छ अहिले अभाव पनि छ यसको विस्तारका लागि हामी चाँडै टुङमा पुग्छौँ।’
उनले नाथमको विस्तारमा निजी क्षेत्रका साथै स्थानीय तहलाई समेत जोड्नुपर्ने बताए। ‘निजी क्षेत्रलाई त्यसमा समावेश गर्ने की स्थानीय तहलाई त्यसमा समावेश गर्ने की। नाथम ल्याउनु खोल्नु भन्ने माग सबैतिर छ। तीन तहका सरकारसँग समन्वय गरेर हुन्छ की। नाथमको जनशक्ति महत्त्वपूर्ण छ त्यसको फ्रान्ससँग दोहोरो इन्टर्नसिप चल्छ,’ उनले भने।