मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले उनकै कान्छा काकालाई पक्राउ गरेको छ।
अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब एक सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा बालिकाकै २२ वर्षीय काका अनिष सरदारको संलग्नता खुलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।
सुरुमा घटनामा संलग्नता अस्वीकार गरेका उनले पछि स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्। पक्राउ परेका अनिषमाथि कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी चुडालले जानकारी दिइन्।