आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गर्ने कानुनी दायित्व पालना नगरेको भन्दै बेलबारी नगरपालिकाप्रति स्थानीयवासीहरू आक्रोशित भएका छन्। २०७८/०७९ को प्रतिबेदनपछिको विवरण वेबसाइटमा नहुँदा नागरिकहरू आ–आफ्नो सूचनाको अधिकारबाट वञ्चित भएको महसुस गरिरहेका छन्।
आश्चर्यजनक रूपमा, हालै मात्र कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृतको फोटोसहितको विवरण वेबसाइटमा केही दिनमै अद्यावधिक गरिएको छ। तर, सार्वजनिक हितमा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने लेखा परीक्षणजस्तो महत्वपूर्ण दस्तावेज महालेखापरीकको कायालयले २०८२ जेष्ठ ६ गते पठाएको प्रतिबेदन करिब एक महिना बितिसक्दा वेबसाइटमा नचढाइँनु दोहोरो मापदण्डको स्पष्ट उदाहरणका रूपमा हेरिएको छ।
स्थानीय नागरिकहरू भन्छन्, “जिम्मेवारी लिएको केही दिनमै फोटोसहितको विवरण अद्यावधिक गर्न सक्ने प्रशासनले २०८०/०८१को लेखा परीक्षण प्रतिबेदन किन हाल्न सकेन? पारदर्शिता भनेको केवल देखावटी हो र?”
आर्थिक अनुशासन र पारदर्शिताको मापदण्ड अनुसार प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण प्रतिबेदन नगरपालिकाले सार्वजनिकरूपमा वेब साइटमार्फत उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। तर, पालिकाले एक महिना भई सक्दा बेलबारीवासीहरू लेखा महापरीक्षण कार्यालयको आधिकारिक वेबसाइटबाट अध्ययन गर्न बाध्य भएका छन्।
"हामीले नगरपालिकाकै साइटमा हेर्नुपर्थ्यो, तर त्यहाँ केही छैन। लेखा महापरीक्षण कार्यालयको पोर्टलबाट मात्रै खोज्नुपरेको छ," एक स्थानीय सामाजिक अभियन्ताले बताए।
