यस वर्ष हाल सम्म देशभर करिब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्याङ्क अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ सकिएको छ । केन्द्रका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हाल सम्म जम्मा २ लाख १७ हजार २८९ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । गत वर्षको तुलनामा भने यस वर्ष हाल सम्म १.६ प्रतिशत रोपाइँ कम भएको छ ।
प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष यस अवधि सम्म सुदूर पश्चिममा ४० प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । सुदूर पश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म ८० हजार १२८ हेक्टरमा रोपाइँ सकिएको हो ।
कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ । त्यस मध्ये हाल सम्म करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हाल सम्म करिब २४ प्रतिशत रोपाइँ सकिएको थियो ।
लुम्बिनी प्रदेशमा हाल सम्म ९.७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बिनीमा १८.५ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
गण्डकी प्रदेशमा हाल सम्म १३.८ प्रतिशत धान रोपाइँ भएको केन्द्रले जनाएको छ । गत वर्ष यस अवधि सम्म यस प्रदेशमा १२.४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धान खेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म २०.५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करिब साढे १९ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।
मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ । यद्यपि, सप्तरी, रौतहट र महोत्तरी जिल्लाको धान रोपाइँको तथ्याङ्क हाल सम्म उपलब्ध नभएकाले यसमा समावेश नभएको केन्द्रले जनाएको छ । यस प्रदेशमा कुल ३ लाख ८० हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
कोशी प्रदेशमा हाल सम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । यहाँ गत वर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।