गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन्। 
बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भीरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे। 
उनले भने,‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भीरतापूर्वक र प्राथमिकतामा राखेको छ। हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागि बेग्लै विभागको स्थापना गर्ने छौँ। म यो घोषणा गर्न चाहन्छु। आउने नयाँ आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने छ।’ 
उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबैभन्दा पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक रहेको बताए। 
उनले भने,‘लागूऔषधको दुरुपयोगले समाजलाई भयावह ढङ्गले नकारात्मक रूपले प्रभावित पारेको छ। र यसको विस्तार एकदमै धेरै बढिराखेको छ। त्यसैले पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक छ। यस्तो चेतना विद्यालय–विद्यालयमा पुग्न जरुरी छ।’ 
देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो सङ्ख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए।