सामाजिक रूपान्तरणका साझा उद्देश्यसहित मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर र कम्युनिटी डेभलपमेन्ट प्रोग्राम नेपाल (सीडीपी नेपाल) बीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मिडिया नेटवर्क नेपालका तर्फबाट संस्थाका अध्यक्ष उदयराज ढकाल र सीडीपी नेपालका तर्फबाट संस्थाका अध्यक्ष डा. लक्षी सिंहले बुधवार ललितपुरमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार दुवै संस्थाले नेपालभर सामाजिक रूपान्तरणका विषयमा सहकार्य गर्दै दीर्घकालीन र प्रभावकारी कार्यक्रम अगाडि बढाउने छन्। कार्यक्रममा दुवै पक्षले दिगो सामाजिक विकासमा सूचना, मिडिया र अनुसन्धानको संयोजन आवश्यक रहेको भन्दै सहकार्यलाई ‘परिणाममुखी प्रयास’कारूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
समझदारीअनुसार देशका ७७ वटै जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण, बालअधिकार संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा स्थानीय स्रोत व्यवस्थापन जस्ता विषयमा संयुक्त रूपमा विकासमुखी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा मिडिया नेटवर्क नेपालका अध्यक्ष ढकालले भने, ‘अनुसन्धान, संवाद र सूचनाका माध्यमबाट नागरिक चेतना बढाउनु हाम्रो मूल लक्ष्य हो। अब हामी सीडीपी नेपालसँग मिलेर गाउँदेखि सहरसम्म सामाजिक अभियानलाई सञ्चारसँग जोड्दै अगाडि बढ्नेछौँ।’
त्यस्तै, सीडीपी नेपालका अध्यक्ष सिंहले साझेदारीलाई ‘नीति र व्यवहार जोड्ने सेतु’का रूपमा व्याख्या गर्दै भने, ‘हामीले २० वर्षभन्दा लामो समयदेखि समुदायमा काम गरेका छौँ, मिडिया नेटवर्क नेपालसँगको सहकार्यले हामीलाई राष्ट्रिय सञ्जालसँग जोड्दै हाम्रो प्रभाव र पहुँच बढाउनेछ।’
सहकार्यले शिक्षा, स्वास्थ्य, सीप विकास, उद्यमशीलता, लैङ्गिक समावेशिता, तथा समृद्ध जीवनशैलीतर्फ अग्रसर गराउने खालका कार्यक्रमहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ। यसका लागि दुवै संस्थाले आफ्ना अनुभव, दक्षता, मानव संशोधन र प्रविधिको उपयोग गर्ने सहमति गरेका छन्। सम्झौताअनुसार, संस्थाहरूले संयुक्त अनुसन्धान, बहस, सञ्चार सामग्री निर्माण, नीतिगत सुझाव र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछन्। स्थानीय तहदेखि सङ्घीय तहसम्मका सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै दीर्घकालीन परिवर्तनमा केन्द्रित परियोजनाहरू अघि सारिने जनाइएको छ। सहकार्यको केन्द्रमा पारदर्शिता, जबाफदेहिता र समावेशिता रहनेछन्।
मिडिया नेटवर्क नेपालले सञ्चार माध्यम सञ्चालन, अनुसन्धान, परामर्श, नीति बहस, जनचेतना तथा प्रकाशन तथा प्रसारण सामग्री उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ भने सीडीपी नेपालले ग्रामीण समुदायमा स्वास्थ्य, शिक्षा, रोजगार, महिला तथा बालअधिकारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ। दुई वटा संस्थाहरूबिचको सहकार्यपश्चात् मुलुकको नीति–निर्माण तहसम्म प्रभाव पार्ने गरी कार्यक्रम डिजाइन गरी अगाडि बढाइने सीडीपी नेपालका अध्यक्ष डा.सिंहले बताए। कार्यक्रममा अभिसर्ग नेपाल मिडियाका निर्देशक सुदीप खनाल, सिडिपी नेपालका कार्यकारी सदस्य कमला देवी सिंह लगायतको उपस्थिति रहेको थियो।