गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागूऔषध दुर्व्यसनीको न्यूनीकरणको लागि सरकार लागि परेको बताएका छन्। 
बिहीबार पोखरामा आयोजित अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कास्की जिल्ला लागू औषधको प्रयोगबाट सबैभन्दा प्रभावित रहेको बताउँदै यसलाई घटाउन र दुरुत्साहित गर्न नागरिक समाज,सङ्घ संस्थाहरू र सरकारी निकायहरू मिलेर काम गर्नुपर्ने धारणा राखे। 
उनले भने,‘लागू औषधको प्रयोगबाट प्रभावित युवाहरूको जनसङ्ख्या हेर्न हो भने डर लाग्दो छ। कास्की जिल्ला सबैभन्दा बढी प्रभावित जिल्लामा पर्छ। यसलाई हामीले कसरी घटाउन सकिन्छ। कसरी दुरुत्साहित गर्न सकिन्छ त्यो तर्फ नागरिक समाज,सङ्घ संस्थाहरू र सरकारी निकायहरू मिलेर काम गर्नुपर्ने छ।’
त्यस्तै उनले गण्डकी प्रदेशले लागूऔषध दुर्व्यसनको विरुद्धमा सचेतना फैलाउनको लागि नेपाल प्रहरीसँग साझेदारी गरेर विद्यालयहरू र स्थानीय तहहरूमा सचेतना अभियान सञ्चालन गर्दै आइरहेको पनि जानकारी गराए। सीमित पैसाको लोभमा लागूपदार्थको रूपमा प्रयोग हुने औषधिहरू अवैध रूपमा बेचेर समाजलाई ध्वस्त पार्ने काम बन्द गर्न उनले औषधी व्यवसायीलाई निर्देशन दिए। 
उनले भने,‘गण्डकी प्रदेशले पनि यो दुर्व्यसनको विरुद्धमा सचेतना फैलाउनको लागि हामीले नेपाल प्रहरीसँग साझेदारी गरेर विद्यालयहरू र स्थानीय तहहरूमा सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छौँ। औषधी व्यवसायी साथीहरूले पनि लागू पदार्थको रूपमा प्रयोग हुने जुन औषधीहरू छन्,त्यो अवैध रूपमा नबेच्न आग्रह गर्छु। सीमित पैसाको लोभमा समाजलाई ध्वस्त पार्ने काम कसैले नगरौँ।’