मोरङ, बेलबारी — बेलबारीस्थित मालपोत तथा नापी कार्यालय अन्यत्र सारिने भन्ने कुरा केवल हल्ला मात्र भएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौँका महानिर्देशक शिव प्रसाद रेग्मीले स्पष्ट पारेका छन्।
उनका अनुसार हालसम्म कार्यालय सार्ने सम्बन्धमा कुनै आधिकारिक निर्णय भएको छैन। बेलबारीमा मालपोत तथा नापी कार्यालयको अवस्थिति, सेवा सुविधा र सम्भाव्यता सम्बन्धी अध्ययन मात्र भइरहेको जानकारी उनले दिएका छन्।
“केवल अध्ययन चरणमा छौँ, अझै कुनै निर्णयमा पुगेका छैनौँ,” रेग्मीले भने, “कार्यालय सार्ने वा नसार्ने भन्ने निर्णय अध्ययनपछि मात्रै हुने हो।”
हालै बेलबारीमा कार्यालय सारिने विषयमा विभिन्न तहबाट हल्ला फैलिएको भएपनि उक्त विषयमा सरकार वा विभागबाट कुनै निर्णय नभएको जनाइएको छ। कार्यालयको सुधार र सेवा विस्तारका लागि विभागले विभिन्न क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ।