पूर्वमन्त्री पार्वत गुरुङले नेपालमा बजेट माग्ने अनि टेन्डर आव्हान हुने तर काम नहुने खालको विकासको मोडल रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित वृत्तचित्र भिडियो ‘जिरी एड्भेन्चर ट्र्याक’ को ग्रान्ड प्रिमियरमा उनले नेपालको विकास गर्ने तरिका नै राम्रो नभएको भन्दै यसलाई गम्भीर भएर हेर्नुपर्ने बताए।
उनले भने, ‘बाटो बनाउन सुरुवात गर्न बजेट माग्ने काम हुन्छ। त्यसको टेन्डर आव्हान हुन्छ। तर ठेकेदारले काम गर्दैन। नेपालको विकास गर्ने तरिका नै गलत छ। उपभोक्ता समिति बनायो त्यसले तलमाथि गर्छ, ठेकेदारले काम गर्दैन, विकासको मोडल यस्तै यस्तै छ। यस विषयलाई हामीले गम्भीर भएर हेर्नैपर्छ।’
यस्तै, उनले अब दोलखा जिल्लाको पर्यटन गन्तव्यका रूपमा के के हुन सक्छन् त्यसमा ध्यान दिएर अगाडि बढ्नुपर्ने पनि बताए।
सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अजय बाबु सिवाकोटीले जिरी केवल भौगोलिक दृष्टिले मात्र नभई सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताएका छन्।
उनले भने, ‘जिरी दोलखाको गौरव हो। इतिहासले सगरमाथा पदमार्गको प्रवेशद्वार बनाएको यो ठाउँ केवल भौगोलिक दृष्टिले मात्र होइन सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ। जिरी र यस वरिपरिका पर्यटकीय गन्तव्यहरूलाई पनि धार्मिक र सांस्कृतिक पर्यटन क्षेत्रमा जोड्न पर्ने आवश्यक छ।’