आज देखि बङ्गलादेशमा व्यवसायीक रूपमा विद्युत् निर्यात सुरु भएको छ। सरकारले नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको हो।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो।
गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टा मात्र विद्युत् निर्यात भएको थियो।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको क्षण भएको बताए । “बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,”– मन्त्री खड्काले भने ।
नेपालले हरेक वर्ष पाँच महिना वर्षात्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ। गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यस वेला जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात गर्न पाएको थियो। यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ।
उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र भनेको विद्युत् क्षेत्र भएको बताए। नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गत वर्ष सम्झौता भएको थियो।
आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए।