तामाङ पत्रकार सङ्घले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषामा समेत समाचार प्रकाशन सेवा सुरु गर्न माग गरेको छ।
सङ्घले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। सिंहदरबार स्थित मन्त्रालयमा पुगेर सङ्घले ज्ञापन पत्र बुझाएको हो।
सङ्घले शिक्षा र सञ्चार क्षेत्रमा तामाङ भाषाको प्रयोग कम हुँदै गएको भन्दै राससले तामाङ भाषामा पनि समाचार प्रकाशन तथा प्रसारण सेवा दिनुपर्ने भन्ने माग गरेका हुन्।
ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्नुपर्ने माग पुरा हुन केही समय लागे पनि माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
हाल तामाङ भाषामा मासिक पत्रिका तामाङ डाजाङ नियमित प्रकाशित हुँदै आएको छ। नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रमा तामाङ भाषाका समाचार प्रसारण र प्रकाशन हुँदै आएको छ।