पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा जारी रहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा अझै पनि भक्तजनहरूको उत्साहजनक उपस्थिति देखिन्छ। 
गत वैशाख १७ गतेदेखि सुरु भएको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ समापनको चरणमा आइपुग्दा पनि कथा श्रवण गर्ने भक्तजनहरूको भरिभराउ छ। 
हिन्दु धर्म लोप हुँदै गएको भन्दै धर्मको संरक्षणमा कोटिहोमले महत्त्वपूर्ण योगदान पुर्‍याएको भक्तजन अम्बिका ढुङ्गाना बताउँछिन्। 
उनले पहिलेदेखि नै चलिआएको सनातन हिन्दु धर्म जोगाउनुपर्छ भन्ने सन्देश कोटिहोमले दिएको प्रतिक्रिया दिइन्। 
उनले भनिन्,‘हिन्दु धर्म धेरै लोप हुँदै गएको छ। त्यसैले हिन्दु धर्म बचाउनुपर्छ। पहिलेदेखि नै चलिआएको सनातन हिन्दु धर्म जोगाउनुपर्छ भन्ने कोटिहोमले सन्देश दिएको छ। भक्तजनहरूको भिड धेरै छ। यो देखेर खुसी लाग्यो। व्यवस्थापन पनि एकदमै राम्रो छ।’
यस्तै अर्का भक्तजन भोजराज अधिकारीले यस्ता महायज्ञमा आएर कथा श्रवण गर्न पाइने सुनौलो अवसरको सदुपयोग गर्न सबैलाई सुझाव दिए। उनले  कस्तो कर्म गर्दा के फल पाइन्छ भन्ने ज्ञान महायज्ञमा कथा श्रवण गरेर लिन सकिने धारणा राखे। 
‘यहाँ धेरै चर्चित कथा वाचक तथा वाचिकाहरुबाट कथा वाचन भइरहेको छ। आएर कथा श्रवण गर्दा राम्रो हुन्छ। यस्तो अवसर यो जुनीमा फेरी पाइन्छ पाइन्न थाहा छैन। कोटिहोममा कस्तो कर्म गर्दा के फल पाइन्छ सबै ज्ञान लिन सकिने छ। चार सय भन्दा बढी ब्राह्मणहरू आएर पाठ पुराण चलिरहेका छन्,’ उनले भने 
त्यस्तै, भक्तजन वृद्धिराम भुसालले कोटिहोममा हर्ष र उमङ्ग देख्दा धर्म संस्कृति जोगिएको अनुभूति भएको भन्दै खुसी व्यक्त गरे। यस्ता कोटिहोमले गर्दा धर्म संस्कृति जोगिरहेको भन्दै कोटिहोम सञ्चालक मानव सेवा फाउन्डेसनलाई धन्यवाद दिए। 
उनले भने,‘नेपालमा पछिल्लो समय धर्म संस्कृति हराउँदै गएको थियो। आज यो हर्ष यो उमङ्ग देखेर धर्म संस्कृति जोगिएको देखिएर खुसी लागिरहेको छ। पोखरा कोटिहोम अहिलेसम्मको ठुलो कोटिहोम हो। यस्ता कोटिहोमको आयोजना भइरहनुपर्छ। कोटिहोमले गर्दा धर्म संस्कृति जोगिरहेको छ । कोटिहोम लगाउनेलाई धन्यवाद दिन चाहन्छु। यस्तै गरी, कोटिहोम लगाइरहने हो भने हराएको सनातन धर्म फर्की आउँछ।’ 
त्यस्तै उनले भक्तजनहरूलाई दर्शन गर्न सहजता प्रदानको लागि कुनै कसर बाँकी नराखेको भन्दै समग्रमा नै भक्तजनहरूको लागि राम्रो व्यवस्था गरेको जानकारी दिए। 
गण्डकी कोटिहोम आयोजना गर्नु एकदमै गौरवको कुरा भएको भन्दै कोटिहोममा अन्य विभिन्न विधाका आध्यात्मिक काम भइरहेको ऋषिराम चिलुवाल बताउँछन्। 
उनले अरूको कल्याण गर्नु नै धर्म हो, अरूलाई पीडा दिनु पाप हो भन्ने सन्देश कोटिहोमबाट लिएको बताउँदै उनले सबै जना कोटिहोममा गएर पुण्य लाभ प्राप्त गर्न आग्रह समेत गरे। 
उनले भने,‘गण्डकी कोटिहोम आयोजना गर्नु एकदमै गौरवको कुरा हो। यसले एकदमै आध्यात्मिक काम गरेको छ। सबै जना यहाँ आएर पुण्य लाभ गर्नुहुन आग्रह गर्दछु। अरूको कल्याण गर्नु नै धर्म हो। अरूलाई पीडा दिनु पाप हो। हामीले आध्यात्मिक कार्यमा लाग्नुपर्छ भन्ने सिक्ने मौका पाएँ।’
भक्तजनहरूले गरेको दान दक्षिणाहरू परोपकारको काममा खर्च गर्न आयोजकलाई उनले सुझाए। 
‘अलिअलि दान गर्‍यौँ। हामीले गरेको जुन दान दक्षिणाहरू छन्। त्यो यस्तै राम्रो काम र परोपकारको काममा खर्च भए हुन्थ्यो भन्ने इच्छा छ। कसैलाई नराम्रो नगर्नु, सबैलाई सहयोग गर्नुपर्छ अनि मात्र परोपकारका कार्य हुनेछ। यस्तै राम्रो काम भइरहनु पर्छ।’