पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष (आव) को नौ महिनामा एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ।
कम्पनीको क्रेडिट रेटिङ प्रतिवेदन अनुसार गत आवमा ४९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीले चालु आवको ९ महिनामा करिब दोब्बर व्यापार गरेको देखाएको हो। कम्पनीले यसअघि सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो।
सन् २०२१ बाट नन स्टिम प्लान्ट मात्रै सञ्चालनमा ल्याई व्यावसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०२४ बाट अर्को प्लान्ट सुरु गरेको थियो। कम्पनीले सन् २०२५ को नौ महिनाको अवधिमा एक अर्बभन्दा बढी चामलबाट मात्रै गरेको उल्लेख गरेको छ। बाँकी आम्दानी भुस, कनिका, ब्रान र सोना धानबाट गरेको कम्पनीले जनाएको छ।
यो कम्पनी धानलाई चामलमा प्रशोधन गर्न अगस्ट ४, २०२१ मा स्थापना भएको एक निजी लिमिटेड कम्पनी हो। जसको प्लान्ट बारा, जिल्लाको कलैयामा छ। कम्पनीले मुख्यतया धान आयात गरेर चामलमा प्रशोधन गर्छ र यसको धेरै ब्रान्डहरू बेच्नु अघि ग्रेडिङ र ब्रान्डिङ गर्दछ।
कम्पनीले आफ्ना ग्राहकहरूको लागि आफ्नै ब्रान्ड जस्तै मैजु, सुनचरी, हिमानी, सनराइज, डबल सूर्या मा विभिन्न ब्रान्डको चामल पनि उत्पादन गर्दै आएको छ।
यस कम्पनीको प्लान्टको कुल स्थापित क्षमता प्रति घण्टा ८ मेट्रिक टन छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६५६ करोड रुपैयाँको रेटिङ गराएको छ।