पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ। कोटिहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकोमा आज समापन हुनेछ।
योसँगै कोटिहोममा सहभागी भएका चार सय जना ब्राह्मणलाई पनि सोमबार नै बिदाई गरिने छ। साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ।
आइतबार पनि कोटिहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दाबी छ। हालसम्ममा कोटिहोममा सहभागी हुने भक्तजनको सङ्ख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिका अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए।
शनिवार २१ करोड दीप प्रज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भई का थिए। हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए।
कोटिहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन्। कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्ने छिन्।
कोटिहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो। अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए।
कोटिहोममा हालसम्मकै सबैभन्दा ठुलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटिहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ।